६ महिनासम्म विकास  खर्च र राजश्व संकलनको अवस्था निराशाजनक

0
7

माघ २, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्म विकास  खर्च र राजश्व संकलनको अवस्था निराशाजनक रहेको छ।

यो आर्थिक वर्षको लागि ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विकास बजेट छुट्याइएकोमा पुस मसान्तसम्म ५८ अर्ब ३९ करोड अर्थात जम्मा १३ दशमलव ७२ प्रतिशत मात्रै खर्च भएको छ। गएको वर्षको यही अवधीमा १७ दशमलव ७ प्रतिशत विकास खर्च भएको थियो।

चालु आर्थिक वर्षको लागि सरकारले ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च छुट्याएकोमा पुस महिनासम्ममा ३ खर्ब ९ अर्ब अर्थात ३२ दशमलव ३५ प्रतिशत खर्च गरेको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ विनियोजन भएकोमा ६ महिनामा २७ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको छ।

यस्तै सरकारले यो आर्थिक वर्षमा गएको वर्षको भन्दा ३० प्रतिशत धेरै अर्थात ११ खर्ब ७० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ, तर ६ महिनामा पाँच खर्ब ३७ अर्ब रुपैयाँ राजश्व संकलन हुनुपर्नेमा ४ खर्ब रुपैयाँ मात्रै राजश्व संकलन भएको छ ।

सरकारले केही नीतिगत परिवर्तन गरे पनि व्यवहारिक समस्याको समाधान गर्न चुक्दा खर्च नभएको अर्थविद्धहरुले बताएका छन्। सरकारले विकास खर्च निकै कम छुट्याउने गरेको र त्यही बजेट पनि बेलैमा खर्च नहुँदा देश विकासको बाटोमा जान नसक्ने उनीहरुको भनाइ छ ।