१३औं सागको भव्य उद्घाटन आज हुँदै

0
8

मंसिर १५, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज औपचारिक रूपमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘उद्घाटन सत्रमा विशेषगरी नेपाली मौलिकता र कला प्रस्तुत गरिनेछ। सागमार्फत नेपाललाई प्रकृति, कला र संस्कृतिको धनी देश भनेर चिनाउन चाहन्छौं। संघीय नेपालका सातवटै प्रदेश तथा हिमाल, पहाड र तराईको कलाले उद्घाटन समारोह मनमोहक बन्नेछ। उद्घाटनको यो अवसरलाई छुटाउनै नहुने र सबैले मन पराउने खालको बनाउने हिसाबले तयारी गरेका छौं’, १३औं साग समारोह समितिका सचिव कुलबहादुर थापाले बताए ।

उद्घाटन समारोहमा विशेषगरी नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका  झाँकी प्रस्तुत गरिनेछ। उद्घाटन र समापान दुवैमा १५ हजार जना कलाकारको प्रस्तुति रहने जनाएको छ ।

सागका लागि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको संयोजकत्वमा समारोह समिति गठन गरिएको छ। उद्घाटनमा सबैभन्दा बढी सशस्त्रका चार हजार पाँच सय कलाकारले प्रस्तुति दिनेछन्। त्यसपछि सेनाका दुई हजार पाँच सय, नेपाल प्रहरीका एक हजार, उपत्यकाका विभिन्न ३० विद्यालयका तीन हजार विद्यार्थी, विभिन्न झाँकी चार हजार र तीन सय जनाभन्दा बढी व्यावसायिक कलाकारले विशेष प्रस्तुति दिनेछन्।

उद्घाटन सत्रलाई थप रोचक बनाउन सेना, प्रहरी र सशस्त्रको छुट्टाछुट्टै ब्यान्डले प्रस्तुति दिनेछन्। ब्यान्डको प्रस्तुति सागको इतिहासमै ठूलो हुनेछ । त्यसबाहेक पाँच सय कलाकारले नेपालका विभिन्न मौलिक बाजा बजाउनेछन्। १५ सय जनाको मास क्यालिसथेनिक्स प्रदर्शन पनि हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतापछि सातवटै देशका खेलाडी मार्चपासबाट सुरु हुने उद्घाटनमा स्वागत भाषण, सांस्कृतिक कार्यक्रम र आतिसबाजी पनि हुनेछ। लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक प्रदर्शनले पनि सागको उद्घाटनलाई थप उल्लासमय बनाउनेछ।

कार्यक्रममा दीपक वज्राचार्यको मनमगन बोलको गीतले थप रोमाञ्चकता प्रदान गर्नेछ। यस्तै मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा कुन्ती मोक्तान, इन्दिरा जोशी, आनन्द कार्की, सत्यराज आचार्यलगायतको टोलीले सार्कको गीत गाउनेछन्। सातवटै प्रदेशको प्रतिनिधित्व हुने स्वागत नृत्य पनि प्रस्तुत गरिनेछ। सागको उद्घाटन र समापनको बजेट १५ करोड रुपैयाँ रहेको बताइएको छ।

सागमा २६ खेलमा सात देशका २९१० खेलाडीले तीन सय १७ स्वर्ण, सोही संख्यामा रजत र चार सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन्। सागमा नेपालले सबै खेलमा भाग लिएको छ। सागका खेलहरू काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुनेछ। नेपालले तेस्रो पटक साग आयोजना गरेको हो। यसअघि नेपालले सन् १९८४ मा पहिलो र सन् १९९९ मा आठौं साग आयोजना गरेको थियो।

नेपालको झन्डा कमलले बोक्ने

सागको उद्घाटनको मार्च पासमा नेपालको झन्डा ओलम्पियन एवं भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उद्घाटन सत्रको मार्च पासमा नेपालको झन्डा कमललाई बोक्न दिने निर्णय गरेको हो। १३औं साग राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिले यसअघि झन्डा बोक्न कमलसहित विभिन्न पाँच खेलाडीको नाम सिफारिस गरेको थियो। एनओसीले सिफारिस भएको नामबाट कमललाई छनोट गरेको हो।