सुदूरपश्चिम सरकारले थोत्रा ट्रकलाई अत्याधुनिक एम्बुलेन्स भनेर बाँड्यो

0
14

पुस २४, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुरानो भएर थन्किएका १६ वटा मिनी ट्रकलाई एम्बुलेन्सको स्वरुप दिएर वितरण गरेको खुलेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिद गरी गत २० कात्तिकमा नौ जिल्लाका अस्पताल र स्वास्थ्य चौकीमा वितरण गरेको थियो ।

ती ट्रकको भन्सार शुल्कसमेत गरी हालको मूल्य करिब १९ लाख रुपैयाँ छ । तर, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार प्रतिएम्बुलेन्स ३९ लाख ७ हजार रुपैयाँका दरले ६ करोड ३५ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको छ । जबकी एम्बुलेन्समा सरकारले शतप्रतिशत भन्सार छुट दिन्छ ।
भन्सार छुट हुने एम्बुलेन्सका लागि बजार मूल्यभन्दा दोब्बर बढी भुक्तानी गरिएकाले अनियमितताको शंकामा थप बल पुगेको छ ।

एम्बुलेन्सको स्वरुप दिइएका ती ट्रक सन् २०१४ मा बनेका हुन् । ४०७/०३१-४ २१२१ मोडेलका टाटा कम्पनीका मिनी ट्रक हाल प्रयोगमै छैनन् । यही मोडेलका मिनी ट्रक हाल नयाँ इन्जिनसहित सीआर मिनी ट्रकको स्वरुपमा बजारमा उपलब्ध छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री सुवेदीलाई आफ्नै निवासमा बोलाएर एम्बुलेन्स खरिद प्रक्रियाबारे सोध्नुका साथै सत्यतथ्य सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

कम्पनीले नै बिक्री नगरेर थन्क्याएको ट्रकलाई एम्बुलेन्सको स्वरुप दिएर बाँडेको आरोप खेपेका सामाजिक विकास मन्त्री सुवेदीले भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

अत्याधुनिक भनिएका एम्बुलेन्स कैलालीको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली अञ्चल अस्पताल, डोटीको जिल्ला अस्पताल र अछाम जिल्ला अस्पतालमा, अछामकै कमलबजार स्वास्थ्यचौकी, बान्नीगढी स्वास्थ्यचौकी र बाब्ला स्वास्थ्यचौकीलाई बाँडिएको थियो ।

यस्तै, बैतडीको रुद्रेश्वर र कुलाउ स्वास्थ्यचौकी, दार्चुलाको हिकिला र खार स्वास्थ्यचौकी, डडेल्धुराको जोगबुढा अस्पताल, नवदुर्गा स्वास्थ्यचौकी र टाटे स्वास्थ्यचौकी, बझाङको रायल प्राथमिक स्वास्थ्यचौकी र मटेना स्वास्थ्यचौकीले सामाजिक विकास मन्त्रालयबाट अत्याधुनिक एम्बुलेन्स पाएका छन् ।