सल्लाहकार र सचिवालय हेरफेरलगत्तै मन्त्रिपरिषद् पुनर्गठन तयारीमा प्रधानमन्त्री ओली

0
7

कात्तिक २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् ।

शुक्रबार बसेको सल्लाहकार र सचिवालय समूहको संयुक्त बैठकमा मुख्य सल्लाहकार विष्णु रिमालले अन्य सदस्हरूलाई प्रधानमन्त्तीको सन्देश सुनाएका थिए । यससँगै सल्लाहकार र स्वकीय सचिवालयका १३ जनाले १ मंसिरबाट लागू हुने गरी सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन् ।

‘प्रधानमन्त्रीज्यूले कामलाई गति दिन चाहनुभएको छ, त्यसका लागि सल्लाहकार समूह र स्वकीय सचिवालय समूहको पनि पुनर्संरचना गर्नुपर्ने हुन सक्छ, कसैलाई बस्नुस्, कसैलाई जानुस् भन्न पनि उहाँलाई अप्ठ्यारो होला, त्यसैले हामी सबैले १ मंसिरबाट लागू हुने गरी सबैले सामूहिक राजीनामा दिएर प्रधानमन्त्रीको योजनामा सहयोग गरौँ,’ रिमालको नेतृत्वमा सम्पन्न संयुक्त बैठकपछिको निष्कर्ष सुनाउँदै सचिवालयका एक सदस्यले भने ।

तिहारलगत्तै स्वास्थ्य स्थिति प्रतिकूल बनेपछि प्रधानमन्त्रीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शपछि फास्टट्र्याकबाट काम अघि बढाउने संकेत गर्दै पहिलो चरणमा केही सल्लाहकार र सचिवालय सदस्यहरू हेरफेर गर्न खोजेका हुन् । सल्लाहकार र सचिवालयमा हेरफेरपछि दोस्रो चरणमा मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको
तयारी छ ।

प्रधानमन्त्री ओलीले सचिवालय हेरफेर, मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग दसैँअघि छलफल गरेका थिए । सबै मन्त्री हेरफेर गर्ने कि कार्यसम्पादनमा कमजोर देखिएकाहरू मात्र फेर्ने विषयमा छलफल केन्द्रित थियो । आधा दर्जनजति मन्त्री हेरफेर गर्न दुवै लभगभ सहमत भएका थिए । अब उपचुनाव सकिएलगत्तै मन्त्रिमण्डलसमेत पुनर्गठन गर्ने तयारी भइरहेको उच्च स्रोतले जनाएको छ ।