संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा

0
6

असोज ३, काठमाडौं । जनताका प्रतिनिधिले संविधानसभाबाट संविधान जारी गरेको आज ४ वर्ष पूरा भएको छ । सो अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ ।

दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीको टुडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने मूल समारोह समितिले जनाएको छ ।

समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

सरकारले भव्य ढंगले संविधान दिवस मनाउने तयारी गरिरहँदा असन्तुष्ट समूह भने यसको विरोधमा देखिएका छन् ।मधेसी दल तथा केही संगठनहरूले यसलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेका छन् ।