लालपुर्जा नेपालीसँग, जमिन भने भारतीयको कब्जामा

0
5

मंसिर ३, काठमाडौं । नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन।

जग्गाको लालपुर्जा बाकसमा थन्किए। जमिन बाँझै रह्यो। नारायणी नदीपारि रहेको सुस्ता गाउँपालिका–५ मा पर्ने सुस्ताको कुल क्षेत्रफल ४० हजार नौ सय ८० हेक्टर हो। तर अहिले सात हजार हेक्टर जमिनमात्रै नेपालीले उपभोग गर्दै आएका छन्। १४ हजार हेक्टरमा भारतीयले अतिक्रमण गरी बस्ती बसालेका छन्। १९ हजार हेक्टर जमिन विवादित भन्दै कुनै पक्षले उपभोग नगर्ने सर्तमा त्यसै छाडिएको छ। त्यो जमिन अहिले झाडीमा परिणत भएको छ।

सुस्ताको बड्का टोलका ६० वर्षीय निजामुद्दिन अन्सारीको एक बिघा जमिन पनि झाडीमा परिणत भएको छ। उक्त जमिनमा डेढ दशकअघिसम्म उनी मुरीका मुरी धान र तोरी फलाउँथे। ‘मेरो जमिन मलाई मेरा छोराछोरीजस्तै प्यारो लाग्छ तर मैले त्यही जमिनमा टेक्न नपाएको १४ वर्ष भयो,’ उनले भने, ‘मेरो जमिन हडप्नेलाई देख्दा खुन उम्लेर आउँछ।’ सुस्ताकै लैला बेगमले पाँच बिघा जमिनको लालपुर्जा बाकसमा सुरक्षित राखेकी छन् तर खेती गर्न पाएकी छैनन्। २०६१ सालसम्म भारतीयसँग लडेरै उनले आफ्नो जमिन जोगाएकी थिइन्।

२०६२ सालमा एसएसबीले विवादित जमिन भन्दै खेती गर्न दिएन। विवाद मिलाउने नाममा स्थानीय प्रशासनले पनि त्यसैमा सहमति जनायो। अर्का स्थानीय ओमप्रकाश चौधरीको अढाई बिघा जमिन अतिक्रमण भएको छ। २०२९ सालको नापीमा उनले लालपुर्जा पाएका थिए। ‘लालपुर्जा जतनले राखेको छु,’ उनले भने, ‘तर खेत जोत्न पाएको छैन।’ सुस्ताकै रामचन्द्र साहको पुख्र्यौली जमिन पाँच बिघा हो। तत्कालीन समयमा नागरिकता नभएकाले उनले लालपुर्जा पाएनन् तर फिल्डबुक सुरक्षित छ। जमिन भने एसएसबीको कब्जामा छ।

अन्सारी, बेगम, चौधरीजस्ता थुप्रै सुस्तावासीको लालपुर्जासहितको जग्गा भारतीयले अतिक्रमण गरेका छन्। केही जग्गा विवादित करार गर्दै २०६२ सालदेखि खनजोत गर्न दिइएको छैन। विवादित भनिएको अधिकांश जग्गाको लालपुर्जा, फिल्डबुक सुस्तावासीसँग भए पनि जमिन एसएसबीको कब्जामा छ। जसमा सिमलको रूख, गोरेटो बाटो, घोला तथा कल्भर्टको नक्कली साँध सिमाना बनाएर नेपाली भूमिमा नेपालीलाई नै प्रवेश निषेध गरिएको छ।

उक्त जमिनमा २०२२ सालमा बस्ती बस्यो, नेपालीले खेती गरे। त्यही जमिन भारतीयले आफ्नो भनेर दाबी गरिरहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए। ‘जमिन हाम्रो हो तर बस्तुभाउ चराउन पाउँदैनौं,’ उनले भने, ‘हाम्रै जमिनमा तटबन्ध गर्न पाएका छैनौं।’ आफ्नो जग्गाजमिन जोतभोग गर्न नपाउँदा परिवारको गुजारा गर्न निकै समस्या भएको सुस्ताका अर्का स्थानीय कमल हरिजनको गुनासो छ।

सुस्तामा कुनै संरचना वा विकासका काम गर्दा समेत एसएसबीका जवानले अवरोध गर्छन्, दुःख दिन्छन्। हरिजनका अनुसार गत वर्ष बड्का टोलको सिरानमा तटबन्धको काम चलिरहँदा हतियारसहित आएका एसएसबीका जवानले काम रोक्न चेतावनी दिए। जसका कारण तटबन्धको काम बीचमै रोकियो। स्थानीयका अनुसार तटबन्धको काम चलिरहँदा भारतीय पक्षले ड्रोनबाट चियो गरेको थियो।

२०७४ सालमा थारूटोलबाट भारतको भेडिहारी जाने बाटोमा कल्भर्ट निर्माण गर्दा एसएसबीले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भयो। धम्की सहेरै स्थानीयले कल्भर्ट बनाएपछि एक सातासम्म एसएसबीले नाकाबन्दी गरिदिएको बेचु मियाँले बताए। उत्तरतर्फ नारायणी नदीमा पुल नहुँदा किनमेलका लागि सुस्तावासीहरू भारतीय बजारमै निर्भर हुनुपर्ने बाध्यता छ। कक्षा ७ भन्दा माथि अध्ययनका लागि समेत सुस्ताका बालबालिका भारत जान्छन्।

त्यही मौकाको फाइदा उठाउँदै भारतीय पक्षले बेलाबेलामा दुःख दिने गरेको सुस्ता बचाउ अभियानका सदस्य रवीन्द्र जैसवालले बताए। नेपाली भूमि जोगाउँदाजोगाउँदै आफ्ना सन्तति असुरक्षित हुने हो कि भन्ने चिन्ता पनि सुस्तावासीलाई छ। सीमास्तम्भ नहुँदा सुस्तावासीले अनाहकमा भारतीयको थिचोमिचो सहनुपरेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष खानले बताए। ‘हामीले वर्षौंदेखि सीमा विवाद मिलाउन सरकारलाई आग्रह गरिरहेका छौं तर समस्या समाधानको प्रयास भएको छैन,’ उनले भने।

साँघुरिएको सुस्ता

उत्तरमा नारायणी, पूर्र्व, पश्चिम, दक्षिण र उत्तर पूर्वमा भारतीय भूमिसँग जोडिएको सुस्तामा २०२२ सालदेखि बस्ती बसेको हो। त्यसअघि भारतीय लुटेरा तथा डाँकुहरूले लुक्न यो भूमि प्रयोग गर्ने गरेको सुस्ताका स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन्। तत्कालीन राजा महेन्द्रले भारतीय लुटेराहरूसँग सामना गर्न सक्नेगरी भूपू सैनीकका परिवारसहितको बस्ती बसालेको जानकारहरू बताउँछन्। सुस्ताको कुल क्षेत्रफल ४० हजार नौ सय ८० हेक्टर हो। तर अहिले ७ हजार हेक्टरमा साँघुरिएको छ।

जानकारहरूका अनुसार २०३४ सालअघि सुस्तामा भारतीयको दाबी तथा अतिक्रमण केही थिएन। २०३४ सालमा नारायणीको बाढीले सुस्तामा उठीबास लगायो। बस्ती नारायणीवारि सारियो। सरकारले बाढीपीडितहरूलाई नवलपरासीकै विभिन्न स्थानमा जग्गा दियो। तत्कालीन समयमा नागरिकता नहुने र थोरै जग्गा पाउनेहरु सुस्ता नै फर्किए। ‘फर्केर आउँदा भारतीयले हाम्रो घरबास भएको ठाउँमा कब्जा जमाइसकेका थिए,’ सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले भने, ‘बस्तुभाउ चराउने बाँझो जमिन कब्जा गर्न भ्याएका थिएनन।

त्यही जमिनलाई हामीले फेरि हराभरा बनायौं।’ उनका अनुसार १४ हजार हेक्टर नेपाली भूमि त्यतिबेलै भारतीयले अतिक्रमण गरेका हुन्। २०४० सालपछि एसएसबीको आडमा नेपाली भूमिमा फेरि धावा बोल्न थालियो। सुरक्षा निकायको उपस्थिति नहुँदा नेपालीमाथिको थिचोमिचो बढ्दै गयो। सुस्ता बसाउन, बचाउन र जोगाउन छाती थापेर अगाडि बढेका महम्मद रफिक खानलाई एसएसबीले २०४० सालतिरै नेपाली भूमिमै आएर गोली हानी हत्या गरेको उनकी पत्नी नविजहान खातुनले बताइन्।

२०६२ सालसम्म आइपुग्दा थप १९ हजार हेक्टर नेपाली भूमिमा भारतीयले आँखा गाडे। हुर्कदै गरेको उखुबारीमा समेत आगो लगाएर सखाप पारिदिए। त्यसपछि भने सुस्तावासी आफ्नो जमिन कब्जा गर्न नदिने चट्टानी अडान लिएर एसएसबीको समाना गर्न निस्किए। सिंहदरबारसम्म पुगेर हप्तौ धर्नामा बसे। त्यसपछि बल्ल सरकारले समस्या सम्बोधन गर्ने आश्वासनसहित सुरक्षाका लागि सुस्तामा सशस्त्र प्रहरीको क्याम्प राखिदियो। २०६२ मै नेपाल र भारतका अधिकारीहरूबीच भारतीयले अतिक्रमण गरेको तर बस्ती बसाल्न नसकेको १९ हजार हेक्टर जमिनलाई विवादित करार गरार गर्दै तत्काल कुनै पक्षले प्रयोग नगर्ने सहमति गरियो।

अधिकांस सुस्तावासीको गरिखाने खेत बाँझो पल्टियो। त्यतिबेलै सीमा विवाद मिलाउन दुवै देशबीच उच्चस्तरीय पहल गर्ने भनियो। तर अहिले सम्म विवाद जहाँको त्यही छ। नेपाली भूमि फिर्ता गराउने आश्वासन पाएको १४ वर्ष बितिसक्दा पनि ठोस पहल नभएको भन्दै सुस्तावासीहरू सरकारप्रति आक्रोश पोख्छन्। गत बिहीबार नेपाली भूमि फिर्ताको माग गर्दै उनीहरूले जिल्ला प्रशासनमा धर्ना दिएर ज्ञापनपत्र बुझाएका छन्। अब पनि समस्या समाधानको पहल नगरिए थप आन्दोलन चर्काउने सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए। हाल दुई सय ७२ घरधुरी रहेको सुस्ताको जनसंख्या तीन हजार तीन सय ३३ छ। नागरिकबाट