राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु, मतदान अपराह्न चार बजेसम्म जारी रहने

0
6

माघ ९, काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बिहान १० बजेदेखी मतदान सुरु भएको छ । मतदान अपराह्न चार बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल, गण्डकी प्रदेशका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च मावि मतदानस्थल तोकिएको छ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ ।

१८ सदस्यका लागि नेकपाका १६, कांग्रेसका १६, समाजवादीका सात, राजपा नेपालका दुई, नेमकिपाका दुई र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार छन् ।

प्रदेश सभा सदस्य पाँच सय ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख एक हजार पाँच सय ६ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । आयोगले प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखलाई मतदानका लागि परिचयपत्र अनिवार्य गरेको छ ।