राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले पदबाट दिए राजीनामा

0
7

माघ १०, काठमाडौं। राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन, लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरश कार्यान्वयनका लागि सक्रियतापूर्वक सहभागिता जनाउनका लागि विज्ञ पदबाट राजीनामा गरेको प्याकुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै गणतन्त्रलाई बलियो बनाउन राष्ट्रपति लगायत सबै उच्च संस्थाहरु उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताप्रति सजग हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने, कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठूलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो ।’ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुदृढ लोकतन्त्रका लागि कानुनका सामु सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकाक्षाको पक्षमा योगदान गर्न आफूले राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको प्याकुरेलले उल्लेख गरेको छ ।

मानव अधिकार क्षेत्रमा क्रियाशील प्याकुरेलले नेकपाले सभामुख बनाउन लागेका अग्नि सापकोटाविरुद्ध हत्या आरोप विरुद्धको मुद्दा अघि बढाउन भन्दै २०७२ चैत २६ मा सर्वोच्चमा रिट दायर गरेको थियो ।

काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६९ मंसिर ७ गते सर्वोच्चमा मुद्धा दायर गरेको थियो ।

द्वन्द्वका बेला २०६२ मंसिर १६ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका लामाको शव दुई महिनापछि गाडेको अवस्थामा फेला परेको थियो ।

मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते प्याकुरेल राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त भएका थियो ।