महरा रोशनी शाहीको डेरामा पुगेको प्रहरीको पुष्टि

0
12

असोज १६, काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरा रोशनी शाहीको डेरामा पुगेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ ।

प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो ।

स्रोतका अनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको डेरामा छेउमा रोकिएको थियो । एक घण्टा १९ मिनेटपछि उनी त्यहाँबाट फर्किएका थिए ।

महरा त्यहाँबाट सोझै सभामुखको सरकारी निवास बालुवाटार पुगेका थिए । प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ, स्रोतले भनेको छ ।

प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली बुधबार साढे ९ बजेतिर शाहीको कोठामै गएर घटनाबारे थप बुझेको थियो । त्यतिबेला पनि शाहीले बाझिने गरी घटनाबारे बताएकी प्रहरीले जनाएको छ ।

तर रोशनी शाहीले बोली फेरेकी छन् । उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन् ।