मष्टामाण्डौं’ मेला

0
5

साउन ३१, काठमाडौं । नाकमा फुली, टाउकोमा सेतो कपडा बाँधेकी ७० वर्षीया उज्जवलीदेवी शाही लाठीको सहारामा मेला हेर्न विनायकको उकालो लागिन् । लयाँटी निवासी यिनी पूर्वी अछामको विनायकमा हरेक वर्ष आइपुग्छिन् ।

मालिका चतुर्दशीको अघिल्लो दिनदेखि ३ दिनसम्म यहाँ यो क्षेत्रकै ठूलो मानिने ‘मष्टामाण्डौं’ मेला लाग्ने गर्छ ।

मनमा उत्साह बोकेर उज्जवलीदेवीजस्ता मानिस मेलामा किन आउँछन् भने टाढाका आफन्त र आफ्नै उमेरका साथीसँगीसँग यही भेट हुन्छ । यसबाहेक मेलामा धामी नाच्ने, कुल देउता पुज्ने र देउडा खेल्ने कार्य पनि हुन्छ । यो सबै उनलाई रमाइलो लाग्छ । ३ दिन चल्ने मेलामा वरिपरिका श्रद्धालुहरूको भीड लाग्छ । ‘पहिले मेला हेर्न हिँडेरै आउँथे । यसपटक त मोटरसाइकल चढेर आएँ,’ उनले सुनाइन्, ‘छोराले विनायकसम्म पुर्‍याएपछि मलाई सजिलो भयो । सुख, दुःख साटासाट गर्ने, लामो समयसम्म नभेटिएका नातागोतासँग भेट हुने बेला पनि यही हो ।’

प्रायःजसो मेलापात र चुलोचौकोमा व्यस्त रहने महिला गाउँघरमै हुने यस्ता मेला जात्रा हेर्ने अवसर सकभर छुटाउँदैनन् । ‘पहिले त घरबाट निस्कनै पाइँदैन थियो,’ मेलामा भेटिएकी विनायक ५ कि ७५ वर्षीया खन्टी रावलले भनिन्, ‘कतै कसैको विवाहको रत्यौलीसम्म जान पाइन्थ्यो । यस्ता मेलामा चिनेजानेकाहरू भेट हुँदा खुसी लाग्छ ।’ मेला हेर्नकै लागि उनी गाउँका थुप्रै वृद्धवृद्धा र युवासहित आएकी थिइन् ।

मेलाकै अवसरमा माइतीघर जाने र बुबाआमा र दाजुभाइ भेट्ने प्रचलन पनि छ । स्थानीयका अनुसार दसैंतिहारभन्दा पनि चेलीका लागि यो मेला ठूलो मानिन्छ । ‘यो बेला माइतीघर आएन भने आमाबुवा र दाजुभाइले दुःख मान्छन्,’ कालीकोटबाट विनायकस्थित माइतीघर आइपुगेकी रमिला रावलले भनिन्, ‘बरु दसैंतिहारमा नआए दुःख मान्दैनन् ।’

स्थानीयका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको मुख्य पहिचानको रूपमा रहेको देउडा यो मेलाको अर्को आकर्षण हो । तीन दिनसम्म धितमर्ने गरी खेल्ने गरिन्छ । ठाडी भाका, न्याउले, देउडा दोहोरीको माध्यमबाट धेरैजसोले सुखदुःखका भाव अभिव्यक्त गर्दछन् । यीमध्ये केटा र केटी पक्षबीच देउडा दोहोरी चल्छ ।

मेलामा खासगरी मष्टो देउताअन्तर्गत पर्ने कालासिल्ला र बालनसिल्ला देउताको पूजा हुन्छ । मेलाकै लागि काम र अध्ययनका लागि घरबाहिर रहेकाहरू पनि सकभर फर्किने गर्छन् । ‘घर नफर्केको ५ वर्ष भएको थियो । मष्टो देउतालाई भाकेका कारण यो पटक फर्केर आएँ,’ स्थानीय प्रसादे रावलले भने, ‘यो पर्वलाई दसैंतिहारभन्दा ठूलो मान्छौं हामी ।’

मष्टो देउताका धामी स्थानीय रतनबहादुर शाहीका अनुसार यो पर्वमा गाउँभरिका पचासभन्दा बढी धामीसँगै नाच्छन् । देउतालाई भाकल दिए मनोकांक्षा पूरा हुने भन्दै बोकाको बलि पनि चढाइन्छ । ‘यहाँ जेठ पूर्णिमा, साउन पूर्णिमा र पुस पूर्णिमामा बलि दिइन्छ,’ उनले भने, ‘देउडा र देउता नाच भने साउनमा मात्रै देखाइन्छ ।’ उनका अनुसार यहाँ कालीकोट, सुर्खेत, दैलेख, जुम्ला, मुगु र बाजुराबाट जात्रा हेर्नेहरू आउँछन् ।
स्थानीय भाषामा यसरी आउनेलाई रम्च्यारु भन्ने गरिन्छ । ‘यो क्षेत्रको सबैभन्दा बढी पुज्ने देउता नै यही हो,’ शाहीले भने । मंगलबारबाट सुरु भएको मेला बिहीबार राति सकिने उनले बताए । गाउँगाउँमा सडक सञ्जाल विस्तार भएपछि मेलाको महत्त्व पहिलेभन्दा बढेको उनको बुझाइ छ ।
‘पहिले त मेलामा आउनका लागि २/३ दिन अगाडि नै घरको चाँजोपाँजो मिलाउनुपर्थ्यो । अहिले गाडी आउँछन् । टाढाटाढाबाट पनि एकै छिनमा आइपुग्छन् । यसले मेलाको प्रचारप्रसार र महत्त्व बढाएको छ,’ उनले भने । आजको कान्तिपुरमा छापेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here