भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वसभासद कार्की पक्राउ

0
10

भदौ १९, काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वसभासद डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन् ।

पहिलो संविधानसभाका सभासद कार्कीलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतमा पेससमेत गरिएको नेपाल प्रहरीका सहायक प्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।

सभासद हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ परेका उनलाई २०६७ सालमा विशेष अदालत र सर्वोच्च अदालतले दोषी ठहर गरेका थिए ।

विशेष अदालतले ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरे पनि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो ।

पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेका कार्कीलाई उनका सहयोगी स्वामी ब्रम्हानन्दसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।