भारत विरोध हस्ताक्षर संकलन गरे अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुले

0
63

मंसिर ३, काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पयाधुरा, लिपुलेक लगायतका नेपाली भूभाग आफ्नो नक्सामा समेटिएको विरोध देशभित्र प्रदर्शन भइरहेको बेला अष्ट्रेलियामा पनि नेपाली विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

अष्ट्रेलिया पढ्न गएका नेपाली विद्यार्थीहरुले आइतबार प्रदर्शन गरेकोमा सोमबार हस्ताक्षर संकलन नै गरेको हो । भारतले नेपाली भूमिलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विदेशी भूमिबाटै दबाबमूलक कार्यक्रम आयोजना गर्न ज्योति तिवारी, रोशन अधिकारी, सञ्जय लामा, सुवास बञ्जरा, टंक रिजाल, सुदिप विश्वकर्मा, मनोज सुवेदी, निरज शर्मा लगायतका विद्यार्थीहरु अग्रसर बनेका हुन् ।

उनीहरुले ‘लेट्स युनाइट टुगेदर’ नाम दिएर क्याम्पेन चलाएका छन् । विश्व समुदायको ध्यानाकर्षण गराउन रचनात्मक ढंगले प्रदर्शन गरेका उनीहरुले दुई सय बढीको हस्ताक्षर संकलन गरेको विद्यार्थी तिवारीले जानकारी दिइन।

सिड्नी टाउन हल पार्कमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हस्ताक्षर संकलन गरिएको र संकलित हस्ताक्षरको ब्यानर नेपाली दुतावासमा बुझाईने तिवारीले बताइन ।

‘कालापानी, लिपुलेक, लिम्पियाधुर नेपालकै हो ।’, ‘हामी टाढा छौं तर एकताबद्ध छौं ।’ लगायतका नारा प्लेकार्डमा लेखी त्यहाँ आउनेहरुलाई बुझाउँदै हस्ताक्षर गर्न लगाएका थिए । भारतीय नागरिकले समेत नेपालको माग जायज रहेकाले आफ्नो भूमि सबैलाई प्यारो लाग्ने बताउँदै हस्ताक्ष्र गरेका पनि तिवारीले बताइन ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पयाधुरा, लिपुलेक लगायतका नेपाली भूभाग आफ्नो नक्सामा समेटिएको छ । जसको नेपाल भरी प्रद्धशन विरोध भइरहेको छ । राजनीतिक तहमा नेपाली भूभाग फर्काउन पहल गर्ने सहमति बनेको छ भने सत्तारूढदेखि प्रतिपक्षी विद्यार्थी संगठनलगायतले केही दिनदेखि भारत सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।