सिंहदरबारबाटै गरे प्रधानमन्त्रीले माथिल्लाे त्रिशूली ‘थ्री ए’काे उद्घाटन

0
4

मंसिर २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको उद्घाटन गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालयको ‘एक्सन रुम’बाट स्विच अन गरेर रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको उद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र नागरिकको हितका लागि भएकाले पनि यसमा धेरै महँगो हुनेगरी मुआब्जा लिने काम गर्न नहुने स्पष्ट पार्नुभयो । ठूला आयोजनालाई प्रतिकुल प्रभाव पार्ने गरी जग्गाको मुआब्जा लिने काम नगर्न सम्बन्धित सबै पक्षको प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले ठूला आयोजनाहरु विलम्ब हुने र महँगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले सरकारले ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर देशलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्नसक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।