प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन मंगलबार मतदान हुँदैछ

0
9

चैत ४, काठमाडौं । प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन मंगलबार मतदान हुँदैछ । प्रदेशको नाम र राजधानी तोक्न गठन भएको विशेष संसदीय समितिको सुझावअनुसार मतदान हुन लागेको हो ।

मंगलबार बिहानै राजपा संसदीय दलको बैठक बसेको थियो । बैठकले मतदानमा सबै सांसदलाई उपस्थित हुन र प्रदेशको राजधानी जनकपुर र नाम मधेस राख्ने पक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ ।

नेकपाले नाम जानकी र राजधानी जनकपुर, कांग्रेसले नाम मिथिला- भोजपुरा र राजधानी जनकपुरको प्रस्ताव दर्ता गराएको छ ।
उच्चस्तरीय समितिमा राजधानी जनकपुर राख्न दलीय सहमति जुटे पनि नाममा एकमत नहुँदा मतदानको प्रक्रिया अगाडि बढाइएको संसद् सचिवालयका सचिव रञ्जित यादवले बताए । विशेष समितले बुझाएको प्रतिवेदनमाथि छलफल भएपछि गोप्य मतदानको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन् । दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ । नेकपाको ३२, कांग्रेसको १९ र नेपाल संघीय समाजवादी पार्टीको एक सांसद छन् ।