पीपीएल : पारसको कप्तानीमा रहेको चितवन अपराजित रहँदै फाइनल प्रवेश

0
5

पुस ८, काठमाडौं । चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा चितवनले काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरे पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालमा भएको खेलमा बाबर हायात र रोहन मुस्तफाको अर्धशतकको सहयोगमा चितवनले काठमाडौंलाई जितका लागि १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १०७ रन बनायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै पवन शरार्फले २७ रन बनाउँदा पृथु बास्कोटाले १८ रनको योगदान गरे ।

बलिङतर्फ चितनवका लागि सन्नी पटेलले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रोहन मुस्तफाले दुई विकेट लिँदा कप्तान पारस खड्का, रामनरेश गिरी, करण केसी र भुवन कार्कीले समान एक–एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनाएको हो । चितवनका लागि बाबर हायात र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । ४७ बल खेलेका बाबरले ३ चौका र ६ छक्काको सहयोगमा ७० रन बनाए । ५२ बल खेलका मुस्तफाले ६ चौका र १ छक्काको सहयोगमा ५९ रनको योगदान गरे ।

पाँच खेल खेलेको चितवनले १० अंक सहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । दोस्रो स्थनमा रहेको बुटवलको ६ अंक छ भने तेस्रो स्थानमा रहेको काठमाडौंको ४ अंक छ । काठमाडौंले अब प्लेअफको सम्भावनालाई जिवित राख्न विराटनगर र बुटवल बलास्टर्सको खेल कुर्नु पर्ने हुन्छ ।