नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

0
10

कात्तिक २१, काठमाडौं । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ।

आगामी मंसिर ३ गते खेल हुने तय भए पनि रंगशालाको मापदण्ड नपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) को विज्ञप्तीमा उल्लेख छ।

खेल भुटानमा गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ। एन्फाले खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा गर्न प्रस्ताव गरेको हो।

यसअघि मंगलबार एएफसीका प्रतिनिधि देङ सिओ लोङले गोप्य रूपमा निरिक्षण गरेका थिए। उनले एएफसीको प्रतियोगिता समितिलाई प्रतिवेदन बुझाएसँगै खेल नहुने निश्चित भएको हो।

२०७२ को  भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अहिलेसम्म पूर्ण तयार छैन। खेलाडीका लागि चाहिने चेन्जिङ रूम अहिलेसम्म पूर्ण तयार भइसकेको छैन। खेल आउन १२ दिन बाँकी रहेको अवस्थामा चेन्जिङ रूम फिनिसिङ हुने चरणमा छ। मैदान पनि तयार हुने अन्तिम चरणमा छ।

भिआइपी प्याराफिटमा अझै छानो हालिएको छैन। छानोका लागि हालिने १९ वटा पिल्लरमध्ये अहिलेसम्म ३ वटा मात्र ठड्याइएको छ।

चीनमा तयार भएर यहाँ जडान गरिने प्याराफिट अझै नेपाल ल्याइएको छैन। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एयर कार्गो गरेर प्याराफिट ल्याउने प्रयास गरिरहेको छ।

दशरथ रंगशाला समयमै बन्न नसक्दा नेपालले सुरूमै अवे म्याच खेल्नु परेको थियो। नेपालले पहिलो चरणमा चार वटै अवे खेल खेलिसकेको छ।

नेपालले चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ।

पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५-० र चौथो खेलमा जोर्डनले ३-० ले हराएका थिए। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ।

विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ।

एन्फाको विज्ञप्ती