नेपालमा आधाभन्दा धेरै जनसंख्याको पहुँचमा साबुनपानीले हात धुने सुविधा छैन : युनिसेफ

0
3

चैत ६, काठमाडौं । आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा नभएको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले जनाएको छ ।

युनिसेफका अनुसार संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा छ । ‘नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले हात धुने सुविधा छैन ।’

कोरोना भाइरस (कोभिड -१९) को रोकथामका लागि साबुन पानीले हात धुनु महत्वपूर्ण भन्दै युनिसेफले आफू र आफ्ना बालबालिकालाई जोगाउन नियमित रुपमा हात धुने बानी बसाल्न सुझाव दिएको छ ।

युनिसेफका अनुसार विशेषगरी खाना खानु भन्दा अगाडि, सिंगान पुछेपछि, खोक्नु र हाच्छ्युँ गरिसकेपछि र शौचालय गैसकेपछि राम्ररी हात धुन सके भाइरसबाट जोगाउन सकिन्छ ।

आफ्ना बालबालिकामा ‘फ्लू’ जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य सङ्क्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा लैजान पनि उसले सुझाव दिएको छ ।

अरु व्यक्तिले जस्तै बालबालिकालाई पनि बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने र पखाल्ने गर्न युनिसेफको सुझाव छ ।