निदान अस्पतालका सिइओसहित पाँच जना पुर्पक्षका लागि थुनामा

0
12

कात्तिक २७, काठमाडौं । मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको अभियोग लागेका निदान अस्पतालका सिइओसहित पाँच जनालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ।

अदालतले निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, शंकरलाल लामा, कुमुदकुमार भट्टराई र रामचन्द्र आलेलाई थुनामा पठाएको जिल्ला अदालत ललितपुरले जनाएको छ।

भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्।

उनीहरूको मिलेमतोमा एक बिरामीको मिर्गौला शंकरलाल लामालाई विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ।

ब्युरो प्रहरीका अनुसार नक्कली व्यक्ति खडा गरी मिर्गौला लामालाई प्रत्यारोपण गराइएको थियो। थपलियाका अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरले मिर्गौला प्रत्यारोपणका लागि एकको अनुमति दिएकोमा आलेले अर्कै व्यक्ति खडा गराउने कागज तयार पारेका थिए।

आलेले नक्कली आफन्त खडा गरेर कागजात तयार पारेको भन्दै उनीहरूलाई प्रहरीले असोज २९ गते पक्राउ गरेको थियो।

त्यसपछि पाँचै जनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान गरी मुद्दा अदालतमा लगेको थियो।