नवनियुक्त आइजीपीलाई दर्ज्यानी चिह्न प्रदान

0
9

माघ २९, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीलाई बुधबार गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव न्यौपानेले नवनियुक्त आइजिपी ज्ञवालीलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरेका हुन्।

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि मंगलबारको मन्त्रिपरिषद्को बैठकले बुधबारदेखि लागू हुने गरी ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गरेको हो।

समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे। प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिनुभयो।

प्रहरी समायोजन र आपराधिक गतिविधि निस्तेज पार्न केही चुनौती रहेको स्वीकार गर्दै उनले त्यसमा सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्दै सामूहिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिए।

हरेक हप्ता गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै उनले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयोग गर्ने विश्वास व्यक्त गरे।

नवनियुक्त आइजिपी ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा चुनौती देखिएपनि सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताएका छन‍्। मुलुक सङ्घीयतामा गए पनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको उनको भनाइ थियो।

संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख प्रहरी महानिरीक्षक ज्ञवालीले गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए।

ज्ञवालीले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वससमेत दिलाए। प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा नै आफ्नो ध्यान जाने ज्ञवालीको भनाइ थियो।