तीन दिवसीय क्रिकेटमा नेपाल एमसीसीसँग २०८ रनले पराजित

0
6

कात्तिक २२, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको तीन दिवसीय खेलमा नेपाल २०८ रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा ३९३ रनको विशाल लक्ष्य पछ्याउँदै दोस्रो पारी थालेको नेपालले ४०.३ ओभरमा सबै विकेटको क्षतिमा १८४ रनमात्रै बनाउन सक्यो ।

सोमपाल कामीले ५१, राजु रिजालले ३१, सन्दीप लामिछानले २५ रन, आरिफ शेखले १९, करण केसीले १८ र शरद भेषावाकरले १५ रन जोडे ।

शुक्रबार नै एमसीसीले ३६ ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएर नेपाललाई ३९३ रनको लक्ष्य दिएको घोषणा गरेको थियो । दोस्रो पारीमा एमसीसीका विली गोडलम्यानले ३९, टम वेष्टलीले ३४ तथा एड योङले ३१ रन बनाए ।

नेपालका करण केसीले ३ विकेट लिए ।

पहिलो पारीमा खराब प्रदर्शन गर्दै नेपालले १५३ रनमा सबै विकेट गुमाएको थियो । एमसीसीले भने आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ३६४ रन बनाएको थियो ।

नेपाली सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले शनिबार एमसीसीसँग टी–२० क्रिकेट खेल खेल्दैछ ।