घुसकाण्डमा मुछिएका दोलखाका सिडिओ गृहमन्त्रालयमा तानिए

0
8

मंसिर २०, काठमाडौं । घुसकाण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् ।

अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको सार्वजनिक भएपछि रिजाललाई छानविनका लागि तानिएको हो ।

गृह मन्त्रालया प्रवक्ता केदारनाथ शर्माका अनुसार शुक्रबार रिजाललाई गृहमन्त्रालयमा तानिएको बताए । नयाँ सिडिओ कसलाई पठाउने भन्ने तय भइ नसकेको उनले बताए ।

रिजालले मेलुङ गाउँपालिका-४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको छ । रकम लिएर मुद्दा नचलाउने निर्णय गरेको अभियुक्तको दाबी छ ।

पछि विवाद भएपछि फिर्ता गरेको खुलेको थियो । पीडितहरुले बिहीबार पत्रकार सम्मेलन गरेर सिडिओ घुस लिएको सार्वजनिक गरेका थिए । त्यसअघि पनि विभिन्न मुद्दामा उनले पैसा लिएको खुलेको थियो ।

रिजालले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर पनि काम गरिसकेका छन् । रिजालमाथि थप छानबिन हुने गृह मन्त्रालयले जनाएको छ ।