कालापानीको किचलो

0
9
सुरेश रानाभाट

 

हाम्रो अब्बल माटोमा शत्रु दौडिन पाउँदैन
हाम्रो कञ्चन पानीमा बैरी पौडिन पाउँदैन

मंसिर १५, काठमाडौं । देशको माटो र पानीप्रति कविको कति धेरै माया छ । यस्तै माया मुलुक हाँक्ने नायकमा भइदिए जनता किन देशका गायक हुन्थेनन् र ? देशको माटो र पानीप्रति कविले झै शासकहरूले पनि माया र ममता गरिदिए इतिहासमा नाम लेखिने थियो । हिजो पूर्खाहरू साँध सिमान र पानीका लागि लडे । आज तिनैका सन्ततीहरू कुर्सीका लागि लडिरहेका छन् । सत्ता समीकरणको ‘म्युजिकल चियर’ मा सहभागी हुँदैछन् । धेरै पटक तिमीले त निर्वाचन जित्यौ, दुई तिहाइको सरकार बनायौं, व्यवस्था त ढल्यो तर अवस्था उठेन समग्रमा देश हारिरहेको छ ।

छापामा बलभद्र कुँबरको संझना गरिएको समाचार आयो । अंगे्रजका सेनाविरुद्ध बलभद्रको नेतृत्वमा गरिएको युद्धको झझल्को आउँदा आज गोरखा पल्टन बेलायतमा परेड खेलिरहेको छ । नालापानीमा उनको सहासको बतास अझै पनि चलिरहेको छ । देशमा साँध र सीमा मिचिएको विरोधको बतास चलेको छ । कालापानीको किचलो यतिबेला गुञ्जयमान छ । सरकार भने सिसमहलमा बसेर काजु चवाउँदै छ, सायद होली वाइन पिउँदै कुनै पुरानो हिन्दी सिनेमा गीत सुन्दै । माफ गर महोदय, यो अनुमान यथार्थको प्रतिबिम्बन हो ।

गोरखालीको बिरता व्रिटिश पाउण्डले कायम भएको होइन, स्वाभिमानले रहेको हो । आज त्यही पूर्खाको विरताको व्याज खाएर हामी नेपाली बीर विश्वमा चिनिरहेका छौं । विरबहादुरहरु बुद्धिमान पनि छन् बुद्धिमानहरु बुद्ध पनि छन् । जनरल जिलेस्पी मारिएपछि अंग्रेजले देरादुनमा जिलेस्पी र बलभद्रको स्मारण बनाएर बीर दूश्मन भन्दै युद्धकलाको सम्मान गरेको थियो । तिमी भने बलभद्रलाई विर्सिरहेका छौं र विर्सनुपर्ने पाठ घोकिरहेका छौं ।

सन् १८१४ देखि १८१८ सम्म गोर्खा र अंग्रेज फौजबिच युद्ध भएको थियो । त्यो बेला गोर्खालीले हारेको होइन सुगौली सन्धिका कारण युद्ध रोकिएको हो । बलभद्रले हारेका होइन केबल किल्ला छोडेर गएका मात्र हुन् । देरादूनका १० लाख नेपाली भाषीको मनमा उनी अझै आलै छन् उनीहरूका लागि नालापानी तीर्थ हो बीरताको उर्जा हो ।

दुईतिहाइको दम्भ पनि फगत पानीको फोका जस्तै हो । द्धन्द्धात्मक भौतिकवादले भन्छ हरेक वस्तु परिवर्तनशील छ । समयले घमण्डको घडा फोड्ी छाड्छ । प्रिय पाठक, सरकारको विदेश नीति झुर छ भनिरहनु पर्दैन् । अपरिपक्व छ भनेपनि हुन्छ । राष्ट्रियताको सवालमा सडकमा हुँदा र सत्तामा हुँदाको आवाज किन पृथक भयो ? कालापानी, लिम्पियाधुरा, लिपुलेक, होली वाइन, भेनेजुएला भर्सन बिमसटेकको संयुक्त सैन्य अभ्यास, विआरआइ, इण्डो प्यासेफिक रणनीति चीन र भारसँगको कुटनीतिक सम्बन्धमा सरकार आँखा चिम्लेर बसेको छ । तर सरकार प्रवक्ता च्याँठिएको स्वरमा प्रतिवाद गरिरहेका छन् ।

साँध र सीमा सुरक्षाका डिस्कोर्षमा सरकारको ड्यासिङ र डायलग फितलो सावित भएको छ । इण्डो प्यासेफिक एजेण्डामा अमेरिकाको पैसा लिने र चीनलाई रिझाउन त्यसको पक्षमा छैनौं भन्नु सरासर द्वैध चरित्र हो । हो लिपुलेक र कालापानी ५ दशका अगाडिका सवाल हुन् । यो भूमि पञ्चायतदेखि नै भारतको पञ्जामा छन् । केबल मनोमहोहन अधिकारी र शेरबहादुर देउवाले प्रधानमन्त्रीको हैषियतमा सिधै पत्राचार गर्ने हिम्मत गरे । सुशील कोइराले २०१५ मै कुटनीतिक नोट पठाएर भारत र चीनलाई आफ्नो विमति राखेका थिए । २३ कात्र्तिक २०७६ मा ओलीले सर्वदलीय बैठक बोलाएर एकपक्षीय नक्सा अमान्य छ भनी घोषणा गरे । यो घोषणा झिनो औपचारिकता मात्रै बन्यो । परराष्ट्र मन्त्रालयको कुटनीतिक पहल जोडदार हुन सकेन । यसघडी ओली शल्यक्रिया र डायलसिस प्रोसेसमा छन्, डायलगमा होइन ।

कुटनीतिक पहल नभएमा यो समस्या अझ क्रोनिक र पेचिलो बन्ने छ । अल्जेरियाली कवि ताउर जाउदले भने झैं मौनता मृत्यु हो यस सवालमा सरकार सो सरह बन्दै छ । राष्ट्रियताको नारा, देशभक्तिका गान, फगत जनतालाई भ्रममा राख्ने कुरा मात्रै हुन । उत्तेजनाबाट केही लाभ र भोट त पाइएला तर यथार्थमा काजगजी फूल वा पलाँस जस्तो हुनेछ । राष्ट्रियता मानचित्र, भूगोलको सीमा रेखा, ढुंगामाटोपानी, मात्रै होइन स्वाभिमान पनि हो । जब स्वाभिमानमा चोटपर्छ अनि उपचारको नियतमा खोट लाग्छ । ओलीको राष्ट्रवादी अडानलाई देउवाले चुनौती दिएका छन् ।

भारतले केही समय अगाडि नयाँ नक्सा निकालेपछि पुरानो खाटा बसेको घाउ बल्झिएर कालापानीको किचलो सुरु भएको छ । नयाँ नक्सा ओलीलाई स्वीकार छ कि छैन् प्रष्ट रूपमा देशवासीका लागि सम्बोधन गरेर सन्देश आउनु पर्छ । देशभक्तिको कुरा त्यति सस्तो हुँदैन् जब कि बजारमा प्याजको भाउ बढिरहेको छ । शंकर लामिछानेको एब्स्ट्याक्ट चिन्तन प्याज जस्तै जिन्दगी र देशभक्ति फगत फोस्रो र खोक्रो छ । उपनिर्वाचनको मसला मात्रै नबनोस राष्ट्रियता । बेदेशिक हस्तक्षेप नेपाललाई अप्रिय लाग्ने शब्द हुन् । कम्युनिष्टहरू विदेशमुखी छन् स्वदेशी भावना र चाहनाको बर्खिलामा छन् । आञ्चलिकताको सुगन्ध पटककै छैन् ।

भारतीय नक्सामा नेपालको भूभाग मानिएको कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका गाउँठाउँ उसैको मानियो । सीमाविद बुद्धिनारायण श्रेष्ठले लगातार लेख, किताब र प्रतिवेदन बुझाउँदा पनि अध्ययन गर्ने समय भएन् । भारतीय प्रधानमन्त्रीले पनि प्रतिवेदन बुझन मानेनन् । भारतलाई यो विषयमा राम्रो थाहा छ, उनीहरुलाई सजिलै खरिद गर्न सकिन्छ । नेतृत्वलाई सीमाको होइन सत्ताको चिन्ता छ ।
नेपाल भारतको सीमा नजिक र खुला छ । अहिले सीमा व्याख्यामा नेपालको सक्रियता आवश्यक छ । नेपालको आन्तरिक द्धन्द्ध, भूकम्प, नयाँ संविधान जारी प्रक्रिया भारतले नजिकबाट हेरिरहेको छ । खैलाबैलामा आफ्नो मिसन पूरा गर्न भारत सिपालु छ । भारतले आफ्नो संविधानबाट काश्मीर सम्बन्धीको दफा ३७० हटायो र यता नेपालको ३७० वर्ग कि.मी. भूभाग हड्प्यो । यो तिनवटा भक्तपुर जिल्ला र पोखरा महानगरपालिका बराबरको क्षेत्रफल हो ।

भारतको हेपाहा र विस्तारवादी प्रवृत्ति भत्र्सना नगरी नहुनेखालको छ । विरोधको चर्को स्वर र विद्रोहको झण्डा देखाउन भन्दा पनि बौद्धिक र कूटनीतिक कदम चाल्नुपर्छ । बेलायत र चीनले पनि त्यो भूमि नेपालको हो भनेर अडान लिन प्रेरित गरेको छन् । नेपाल भारत दुवै संयुक्त राष्ट्रसंघका सदस्य हुन् । यो मुद्धामा अन्तर्राष्ट्रिय अदालत र राष्ट्रसंघसम्म पुग्न ढिलो गर्नु हुँदैन् । ६५ वर्षदेखि हाम्रो माटो र पानीमा भारतले हस्तक्षेप गरिरहेको छ । दुईतिहाइको सरकार बलियो लागे पनि थिचोमिचो सहेर बसिरहेको छ ।

लिम्पियाधुराबाट बग्ने काली नदीको मुहान नै नेपाल भारतको सिमाना हो । काली पूर्व नेपाल र काली पश्चिमको क्षेत्र भारतको हो भनेर सुगौली सन्धि भन्दा अगाडिका मिसिलमा उल्लेख गरिकाएको छ । कालापानीमा मात्रै होइन देशका अन्य भूभागमा पनि भारतको हस्तक्षेप छ । इलामको पशुपतिनगर, नवलपुरको सुस्ता, लगायतका सिमा स्तम्भ रातारात सारिएका छन् । सरकार भातलाटाहरूको अखडा जस्तो बनिरहेको छ । भारतीय प्रभुका अगाडि लम्पसार परेर, आफन्तका लागि छात्रवृत्तिको ललीपपमा मख्ख परेका छन् ।

भारतले सैनिक उपस्थिति बढाउनु र नेपालले आफ्नै भूमि र नागरिकलाई सुरक्षा दिन नसक्नु सीमा सुरक्षाको जटिलता हो । दार्चुलावासी दङदास छन् आफ्नो माटो र पानी भारतको नक्सामा पर्दा । भारतको यो नेपाल खाने विस्तारवादी नीतिको पहिलो पाइलो हो । कालापानी र लिपुलेकको तिरो र कर नेपालले बुझेको छ । नेपाली सेना टुडिँखेलमा घोडाजात्राको परेड खेलेर मात्रै हुँदैन् । राखन खाएर शासनको कासन मानेर मात्रै हुँदैन् । सीमा प्रशासन चिसो लाग्छ भनेर मंसिरदेखि ६ महिना न्यानोमा बसेर हुँदैन् । दार्चुलाको खलङ्गामा रहेको सेना र सशस्त्रको गुल्मले शासकको गुलामी गरेर मात्रै काफी हुँदैन् ।

२०१५ सालमा भारत र चीनबिच भएको लिपुलेकको संझौता धेरैपछि मात्रै नेपालले थाहा पायो । माल पाएर चाल नपाउनु सरकारको उदासिनता हो । बेखबर रहनुको वाहना घातक हो । लिपुलेकदेखि लिम्पियाधुरासम्म कालापानीको क्षेत्रफललाई भारतले आफ्नो नयाँ नक्सामा सामेल गराएको छ । यो अतिक्रमण र हस्तक्षेपका प्रति मौन हुनु स्वीकृतिको सूचक हो । भारतले दसगजा क्षेत्रमा बाटो र बस्तीको अवधारण मुताविक काम गरेको छ । आफ्नो शैन्य शक्तिलाई चेकपोष्ट र सुरक्षाबल मार्फत् शक्तिशाली उपस्थितिमा रूपान्तरण गरेको छ । जंगेपिलर भत्काउनु र नेपालतिर सार्नु नेपाल र नेपालीलाई सशंकित पार्नु हो । परराष्टमन्त्री स्तरीय बैठक, विदेश सचिवस्तरीय बैठक, आयोग आदि निकम्मा सावित भएका छन् ।

इतिहास पढियो कुनै समय, विक्रमाब्द १८६३ सम्म नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म थियो । सुगौली सन्धि भयो वि.सं.१८७२ चैत्र १ गते, नेपालको सिमाना कायम भयो पूर्वमा मेची र पश्चिममा महाकाली । यतिबेला मेची महाकाली नै मिचिन लागेको छ । लडे वीर पूर्खाले साम्राज्यका सामू छाती खोलेर तिनैका सन्तती हामी नेपाली समर्पण गरिरहेका छौं घुडा टेकेर ।

भारतसँग सिमाना जोडिएका नेपालका २७ जिल्ला छन् । ती मध्ये २२ जिल्लाका ५४ ठाउँमा भारतले सीमा अतिक्रमण गरेको छ । ०४६ सालपछि सीमाको विषय चर्चामा आयो । कालापानीमा भारतीय अतिक्रमण र महाकाली सन्धिलाई लिएर पार्टी समेत फुट्यो । बकुल्लाले माछा ढुके झै भारतले एउटा दाउ हेरिहन्छ । जबजब नेपालमा राजनीतिक अस्थिरता र उतारचढाव बढ्दै जान्छ त्यसघडी नै सीमा क्षेत्रमा अतिक्रमण हुँदै जान्छ । सीमा सुरक्षा सरकारको प्रमुख मुद्दा बन्न आवश्यक छ । नत्र कुनै दलले दुई तिहाइको पकड जमाए पनि देश भने हार्ने छ ।

अब राजनीतिक दलले राष्ट्रवादको मुखुण्डो लाएर मात्र देशको सीमा सुरक्षित हुन सक्दैन् । विदेश मामिलाका विशलेषकहरू कुटनीतिक र प्राविधिक पहलमा समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइरहेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले सरकार राष्ट्रिय सार्वभौमिकता र जनताको सुरक्षा गर्न सक्षम भएको भाषण गरे पनि र प्रधानमन्त्री के.पी. ओलीले राष्ट्रियताको भजन गाएर उखान हाले पनि यो गफभन्दा बढी केही हुनेवाला छैन । सरकारको फितलो अडान र अस्पष्ट दृष्टिकोणका वीचमै परराष्ट्र मन्त्रालयले हार्दिक सम्वाद गर्न तयार रहेको जनाएको छ । प्रकारान्तरले समर्पण नै समाधान बन्ने छ ।

जनसंख्या र भूगोलका हिसाबले नेपालको छिमेकी देश चीन र भारत ठूला मान्छिन् । साना देशले साना कुरामा बखेडा झिक्दा ठूलाले जरुर हेप्छ । यसका लागि आफ्नो साँध र सीमा ठिक गर्न कूटनीतिक पहल र प्रयास आवश्यक छ । भारतले इलामको पशुपतिनगरदेखि कञ्चनपुरको महेन्द्रनगरसम्म मात्रै होइन, दार्चुलाको लिम्पियाधुरा कालापानी हुँदै नवलपुर र नवलपरासीको सुस्तासम्म हेपाहा र विस्तारवादी प्रवृति देखाएको छ । देशलाई माया गर्ने कवि क्षेत्रप्रताप अधिकारीले लेखे झैं

                                                                             जे भयो सो भयो भैगो अब दास नबन्दिनू
                                                                            पानी साझा भने जस्तै माटो साझा नभन्दिनू ।