एम्बुलेन्समा वन्यजन्तु ओसारपसार, चालक पक्राउ

0
3

माघ २७, काठमाडौं । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिका बैतडीलाई वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ ।

आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नंको एम्बुलेन्स इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जाँच गर्दा एम्बुलेन्समा मरेको चित्तल फेला परेको जनाएको छ । चित्तल कहाँबाट ल्याइएको भन्ने खुल्न सकेको छैन ।

चालक महेश बोहरा र एम्बुलेन्सलाई प्रहरी नियन्त्रणमा छन् । चित्तल भने वन कार्यालयलाई बुझाइएको र चालकलाई कानूनअनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिकमा डिलासैनीसहित १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।