उपनिर्वाचन मौन अवधि सुरु, प्रचारप्रसारमा रोक

0
12

मंसिर १२, काठमाडौं । उपनिर्वाचन २०७६ का लागि गए राती १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिता अनुसार मौन अवधि सुरु भएपछि उपनिर्वाचन नसकिँदासम्म कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारका पक्षमा चुनावी सभा, याली तथा मतदाता भेटघाटका कार्यक्रमहरु गर्न पाइने छैन ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकारसम्मेलमा उपनिर्वाचन प्रयोजनका लागि आयोगका तर्फबाट गरिनु पर्ने सबै तयारी सकिएको बताए ।

उनका अनुसार शनिबार हुने उपनिर्वाचनका लागि सम्बन्धित जिल्ला र मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीहरु समेत पुगिसेकेको छ भने केहीमा बिहिबार विहानसम्म पुग्ने छ । यस्तै सबै केन्द्रहरुमा मतदान अधिकृत, सहायक मतदान अधिकृतहरु सहितका अन्य कर्मचारी समेत खटिसकेका छन् ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदान स्थल तथा ५३७ मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षा प्रवन्धसमेत व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।

कुल ५२ पदका लागि हुने उपनिर्वाचनमा ३३३ (२५३ पुरुष र ८४ महिला) उम्मेदवार छन् । जसमा २५३ जना राजनीतिक दल र ८४ जना स्वतन्त्र छन् ।

उपनिर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३५४ कर्मचारी खटिएका छन् भने मतदान केन्द्रमा २,६८४ कर्मचारी, स्वयंसेवक २ हजार १६ गरी जम्मा ५ हजार ५४ जना खटिएको आयोगले जनाएको छ ।