उपनिर्वाचनको उम्मेदवारी मनोनयन कात्तिक २१

0
5

कात्तिक २०, काठमाडौं । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन कात्तिक २१ अर्थात भोली हुने भएको छ।

निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

उम्मेदवारहरुको अन्तिम नामावली भने कात्तिक २४ गते प्रकाशन हुने आयोगले जानकारी दिएको छ। सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य-३ तथा स्थानीय तह प्रमुख-१ लगायत ३७ जिल्लाका ५२ स्थानहरुमा मतदान हुँदैछ।

आयोगका प्रवक्ता श्रेष्ठले स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कात्तिक २७ गते हुने पनि बताए।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि २ सय ४७ वटा मतदान स्थल र ५ सय ३७ वटा मतदान केन्द्र पनि तोकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

आयोगले मतदानमा भाग लिनका लागि मतदाता परिचय पत्र लिएर आउन पनि मतदातालाई आह्वान गरेको छ।

उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जना मतदाताले भाग लिनेछन्। निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसिर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि संचालन गर्ने कार्य योजना तय गरिएको जनाएको छ।