अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

0
8

कात्तिक १८, काठमाडौं । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको कार सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार करिब ९ बजेतिर बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्।

दुर्घटनामा रुपन्देहीको सैनामैना नगरपालिका २ मुर्गियाकी ८० वर्षीय दुर्गादेवी खड्का, उहाँका छोरा ४३ वर्षीय भक्तबहादुर खड्का र अर्का छोरा ३९ वर्षीय तिलबहादुर खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ४९ वर्षीय गंगाबहादुर खड्का र उहाँको जेठो दाजुका छोरा २५ वर्षीय विनोद खड्का रहेका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

ओरालो बाटोमा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । कार सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको जनाएको छ ।