अमेरिकी तल्लो सदनबाट राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव पारित

0
16

एजेन्सी

पुस ३, काठमाडौं । अमेरिकी संसदको हाउस अफ् रेप्रिजेन्टेटिभ्स (तल्लो सदन) ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको छ ।

अमेरिकी संसदको तल्लो सदनमा ट्रम्पलाई महाभियोग लगाउने विषयमा मतदान भएको हो। नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रपको विपक्षमा २३० र पक्षमा १९७ मत आएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।

डेमोक्रेटिक पार्टीका सांसदले राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउनु पर्छ भन्ने पक्षमा मतदान गरेका छन, भने रिपब्लिकन पार्टीका सांसदले महाभियोगको विपक्षमा मतदान गरेका विविसीले जनाएको छ ।

चार सय ३५ सदस्यीय अमेरिकी तल्लो सदनको स्पष्ट बहुमतले बहालवाला राष्ट्रपतिलाई महाभियोग लगाउने व्यवस्था, अमेरिकी संविधानको आर्टिकल १ अर्न्तगत सेक्सन २ को क्लज ५ मा उल्लेख गरेको छ ।

ट्रम्पले यूक्रेनसँगको सम्झौतामा सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनलाई प्रभाव पार्ने गरी आफ्ना प्रतिद्वन्दीका विषयमा अनुसन्धान गर्न दवाब दिएर शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ। महाभियोगलाई रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटमा पठाइनेछ। जहाँ सांसदहरूले निर्णायक मण्डलका सदस्यको हैसियतले सो अभियोगमाथि सुनुवाइ गर्नेछन्।

ट्रम्पले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन्। अमेरिकी इतिहासमा ट्रम्प महाअभियोग लाग्ने तेस्रो बहालवाला राष्ट्रपति हुन्। यसअघि सन १८६८ मा १७औं राष्ट्रपति एन्ड्रयू जोन्सन र १९९८ मा ४२ औं राष्ट्रपति बिल क्लिन्टनलाई तल्लो सदनले महाअभियोग लगाएको थियो। सन १९७३ मा वाटरगेट स्क्याण्डल प्रकरणमा कंग्रेसले सम्भावित महाभियोगबारे छानबिन गरिरहेकै अवस्थामा रिचर्ड निक्सनले भने राजीनामा दिएका थिए।

अब यो मुद्दा अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा प्रवेश गर्नेछ। ट्रम्प राष्ट्रपति पदमा रहन्छन् वा रहँदैनन् भन्ने निर्णय अब सिनेटबाटै हुनेछ।

अमेरिकी संसदको तल्लो सदनमा ४३५ मध्ये डेमोक्रेटिक पार्टीबाट २३३ सदस्य रहेका छन्। त्यस्तै रिपब्लिकन पार्टीका १९७ सदस्य तथा एक जना स्वतन्त्र सदस्य रहेका छन्। ४ सिट भने खाली रहेको छ।

त्यस्तै माथिल्लो सदन सिनेटमा रिपब्लिकनको ५३ जना सदस्य रहेका छन् भने डेमोक्रेटिक पार्टीका ४५ जना सदस्य मात्र रहेका छन्। सिनेटमा २ जना स्वतन्त्र सांसद रहेका छन्।