सार्क राष्ट्रका अर्थमन्त्रीहरुको बैठक सम्पन्न

0
4

काठमाडौ, भदौ ३१
सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं अनौपचारिक बैठक परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा आज बुुधबार सम्पन्न भएको छ ।
उक्त बैठकमा उदघाटन मन्तव्य दिंदै परराष्ट्र मन्त्रीले कोभिड १९ को कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राखे । नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्दे उनले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्कराष्ट्रहरु क्रियाशिल रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने धारणा व्यक्त गरे । यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उक्त बैठकमा सार्कका महासचिव इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष श्री शिसिन चेनले उदघाटन मन्तव्य राखेका थिए भने “कोभिड १९ र दक्षिण एशियाली अर्थतन्त्र” विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासायुक्ती सावादाले प्रस्तुति दिएका थिए । उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधीमण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने धारणा व्यक्त गरे ।
प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाली प्रतिनीधिमण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गरेका हुुन । एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो ।