नेपाली कांग्रेस र निजी क्षेत्रका संघ संस्थाहरुबीच छलफल

0
13


कोरोना भाइरस (कोभिड–१९) महामारीबाट नेपालको अर्थतन्त्रमा परेको संकट समाधान गर्न सुझाव
काठमाडौ, बैशाख २४
नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारी नियन्त्रण र यसले अर्थतन्त्रमा पारेको असरलाई पार्टीले नियालिरहेको र निजी क्षेत्रले प्रस्तुत गरेका अवधारणा लागु गराउन संसदमा सकृय भूमिका निभाउने बताएकाछन । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका लागि निजी क्षेत्रसँग नेपाली कांग्रेस संसदीय दलले आज आयोजना गरेको अन्तर्कृयामा सभापति देउवाले महामारीसँगै उत्पन्न आर्थिक संकट समाधानका लागि विपक्षी दलको हैसियतमा सरकारमाथि दबाब सृजना गर्ने बताएका हुन । सभापति देउवाले समस्या समाधानका लागि निजी क्षेत्रले प्रस्तुत गरेको अवधारणा प्रति नेपाली कांग्रेस सकारात्मक रहेको र यसलाई बजेट मार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरिने समेत उल्लेख गरे । सो अवसरमा नेपाली कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आयात प्रतिस्थापन तर्फ निजी क्षेत्रको ध्यान पुग्नु पर्ने बताए ।
नेपाली काँग्रेसका नेता तथा छाँया अर्थमन्त्री मिनेन्द्र रिजालले संयोजन गरेको अन्तर्कृयामा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, होटल एसोसिएसन अफ नेपाल लगायतका निजी क्षेत्रका अन्य संघ(संस्थाहरुले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट नेपालको अर्थतन्त्रमा परेको चक्रिय आर्थिक संकट टार्न सबै क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताएका छन् ।
अन्तर्कृयामा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कोरोना भाइरसको महामारी र लकडाउनका कारण अर्थतन्त्रमा परेको चक्रिय संकट कम गर्न आर्थिक पुनर्उत्थान प्याकेज ल्याउन जरुरी भएको बताउनु भयो । आर्थिक क्षतिलाई बढ्न नदिन र श्रमिक तथा रोजगारी व्यवस्थापन गर्न सरकार,निजी क्षेत्र,राजनीतिक दलहरु सहित अन्य सरोकारवालाहरुको साझा प्रयत्न आवश्यक भएको पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैँक समक्ष प्रस्तुत गरेको मौद्रिक उपायहरुबाट थप राहतको अपेक्षा गरेको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना संकटलाई ध्यानमा राखेर लगानी तथा व्यापार गर्दा लाग्ने बढ्दो मूल्यलाई कम गर्ने उपायलाई बजेटले सम्बोधन गरिनुपर्ने बताए । होटल एशोसिएसनका अध्यक्षका सृजना राणाले वर्तमान संकटबाट पर्यटन र होटल क्षेत्र अति प्रभावित भएकाले बैंक ऋण तथा श्रमिक व्यवस्थापनमा सरकारको राहत पर्याप्त भएकाले थप लचिलो नीति माग गरेको बताए ।
सो अवसरमा निजी क्षेत्रले सरकारलाई बुझाएकै संयुक्त सुझाव बारे प्रस्तुति दिँदै परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नेपाल सरकारलाई आर्थिक पुनर्उत्थान प्याकेज ल्याउन आग्रह गरेको बताए । विषम आर्थिक संकट सामना गर्न सरकारलाई अतिरिक्त भार नपर्ने गरी वित्तीय, मौद्रिक तथा उद्योग क्षेत्रसँग सम्बन्धित उपायहरु प्रस्तुत गरिएको उपाध्यक्ष अग्रवालले उल्लेख गरे । सरकारलाई विस्तारकारी वित्तीय नीतितथा स्टिमुलस प्याकेज अघि सार्न, रोजगारी तथा लगानीमुखी नीतिहरुका लागि सरकारलाई सुझाव दिइएको र सोहि सुझावहरुलाई ध्यानमा राखेर प्रमुख प्रतिपक्षी दलको रुपमा संसदमा सकृय भूमिकाको अपेक्षा गरिएको पनि उपाध्यक्ष अग्रवालले उल्लेख गरे ।
परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले लकडाउन भइरहँदा मुलुकका उद्योग, व्यापार तथा व्यवसाय धरासायी समेत हुने स्थिति सृजना हुन सक्ने भएकोले आवश्यक सावधानी सहित लकडाउन खुकुलो बनाउँदै अर्थतन्त्र चलायमान बनाउने उपायमा काम थालिहाल्नु पर्ने बताए । सो अवसरमा निजी क्षेत्रका संघसंस्थाहरुका अन्य प्रतिनिधिहरुले पनि कोरोना भाइरसको महामारीबाट अर्थतन्त्र र उद्योग व्यवसायमा परेको असर बारे आ आफ्नो धारणा राखेका थिए ।