गैरआवासीय नेपाली संघ (एनआरएनए) ’कोभिड १९’ तथ्यांकः अपडेट २२ ६१ हजार ७ सय १० जनाको उद्धार, साउदीमा ६० शव अलपत्र

0
5


काठमाडौ, भदौ २८
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपुतले जानकारी दिनुभएको समितिले जनाएको छ ।
यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । यो सँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताउनुभयो ।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।
यस्तै नेपालमा मात्र ५३ हजार १ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ३७ हजार ५ सय जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत हो । हालसम्म नेपालमा ३ सय ३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ५ सय ७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ९० हजार ७ सय ६७ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७१ हजार ७ सय १७ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८.७ प्रतिशत रहेको छ ।
६१ हजार ७ सय १० जनाको उद्धार
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको छ ।
साउदीमा ६० शव अलपत्र
साउदीस्थित नेपाली राजदूताबासका अनुसार साउदी अरबमा कोरोना लगायत अन्य विभिन्न कारणले निधन भएका ६० जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् ।
हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय जना नेपालीहरुको शव नेपाल ल्याइएको छ ।
गैरआवासीय नेपाली संघको अनुरोध
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गर्नुभएको छ । विदेशमा पीसीआर परिक्षण गराएर नै स्वदेश जाने भएतापनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा. सापकोटाले आग्रह गर्नुभएको हो । संक्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने जस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उहाँले अनुरोध गर्नुभयो । यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतिक्षा गर्न र त्यसका लागि आवश्यक पीसीआर परिक्षण समयमै गर्न समेत डा. सापकोटाले आग्रह गर्नुभएको छ ।